महिला भलिबल लिगको दोस्रो संस्करणका लागि बिहीबार खेलाडी अक्सन हुने

काठमाडौं: वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यही बिहीबार हुने भएको छ। आयोजक इडब्लुभिएलकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्नेभी चापागाईंले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अक्सनको मिति सार्वजनिक गरेकी हुन्।
प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत हुने अक्सनमा ६ वटा फ्रेन्चाइज टोलीले राष्ट्रिय स्तरका खेलाडी, नवप्रतिभा र उदाउँदा खेलाडीहरूबाट आफ्नो टिम निर्माण गर्नेछन्। आयोजकका अनुसार यो प्रक्रियाले नेपाली महिला भलिबललाई व्यावसायिक दिशातर्फ लैजाने र खेलाडीहरूलाई आर्थिक तथा व्यावसायिक अवसर दिलाउने ठोस अपेक्षा गरिएको छ।
इडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने तयारी छ। प्रतियोगिताको पहिलो संस्करणमा कर्णाली प्रदेशको टोलीले उपाधि जितेको थियो।
यस संस्करणमा प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ, किनकि अक्सन प्रक्रियाबाट टोलीहरू थप मजबुत हुने विश्वास गरिएको छ। आयोजकले प्रतियोगिता व्यवस्थापन, प्रचारप्रसार र खेलाडी सशक्तिकरणमा विशेष जोड दिइने जनाएको छ।