एसियन गेम्स: नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा प्रवेश

एसियन गेम्स: नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा प्रवेश

नागोया (जापान): २०औं एसियन गेम्स २०२६ मा नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा पुगेको छ। यससँगै नेपालले यो प्रतियोगितामा कम्तीमा कास्य पदक जित्ने निश्चित भएको छ।

समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३४-२५ ले हराएर सेमिफाइनलमा आफ्नो ठाउँ पक्का गरेको हो । खेलको पहिलो हाफमा १९-१३ को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि १५-१२ को अग्रता जोड्दै जित हासिल गर्यो ।

नेपाल आफ्नो समूहबाट दोस्रो हुँदै सेमिफाइनल पुगेको हो । यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई हराएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह चरणका तीन खेलमध्ये दुई खेल जित्दै नेपाल अघिल्लो चरण प्रवेश गरेको हो । यो समूहबाट चाइनिज ताइपेइ पनि सेमिफाइनल पुगेको छ ।

फाइनल प्रवेशका लागि नेपाली टोलीले शुक्रबार प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको १९औं एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।