दशौं राष्ट्रिय खेलकुदः यस वर्ष रजत र कास्य जित्नेलाई पनि नगद पुरस्कार

सिमराः कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको बहुप्रतिक्षित दशौं राष्ट्रिय खेलकुदमा पहिलोपटक रजत र कास्य पदक विजेता खेलाडीहरूलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी र पुरस्कारबारे जानकारी गराएको हो ।
राखेपका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कास्य पदक विजेताले ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै टिम इभेन्टतर्फ स्वर्ण जित्नेले १५ हजार, रजतले १० हजार र कास्य पदक विजेताले ८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसअघि राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई मात्र नगद पुरस्कार दिने प्रचलन रहेकोमा दशौँ संस्करणबाट रजत र कास्यलाई पनि समेटिएको हो ।
प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन् । राखेप सदस्य सचिव रामचरित्र मेहताका अनुसार उद्घाटन र समापन समारोह दुवै सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ ।
प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र एनआरएनएको गरी ११ टोलीको सहभागिता रहनेछ । कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। प्रत्येक टोलीबाट ६६० जना सहभागी हुनेछन् । जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन् ।
त्यस्तै प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन्। प्रतियोगिताका लागि कुल १ हजार ३० जना निर्णायक रहनेछन्, । जसमा २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक हुने राखेपले जनाएको छ भने खेल संघका ९६ प्रतिनिधिको पनि सहभागिता रहनेछ ।
प्रतियोगिताका खेल सुर्खेतसहित सात जिल्लामा सञ्चालन हुनेछन् । राखेपका अनुसार सुर्खेतमा २३, नेपालगन्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना हुनेछन् ।