राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन चौथो पटक पाथीभरा भलिबल च्याम्पियन

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन चौथो पटक पाथीभरा भलिबल च्याम्पियन

सिमरा: राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगितामा लगातार चौथो सफलता हासिल गरेको छ। शनिबार सम्पन्न फाइनल खेलमा विभूतिले एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।

उपाधि जिताउन सिद्धान्त चौधरीले महत्वपूर्ण योगदान दिए। उत्कृष्ट प्रदर्शनका आधारमा उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भए। त्यस्तै प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ विभूतिकै प्रितमबाबु राय बने। यसैगरी उदयीमान खेलाडीको उपाधि एक्स सर्भिसम्यानका प्रशान्त चौधरीले हात पारे।

विजेता र उपविजेतालाई जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी, सिमरा–डुमरवाना हबका संयोजक बसन्त ढकाल, पाथीभरा स्कुलका प्रिन्सिपल लक्की रिमाललगायतले पुरस्कार वितरण गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले राष्ट्रिय खेल भलिबलप्रतिको बढ्दो आकर्षणलाई दक्ष खेलाडी उत्पादनतर्फ मोड्न आवश्यक रहेको बताए। निजी विद्यालयले खेलकुदमा देखाइरहेको सक्रियताको प्रशंसा गर्दै उनले नगरपालिका तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता पनि जनाए।

प्रतियोगितामा सिमरा र डुमरवाना क्षेत्रका ११ निजी विद्यालयको सहभागिता रहेको थियो। सिमरा–डुमरवाना हब अन्तर्गतका १२ निजी विद्यालयले हरेक वर्ष शिक्षा तथा खेलकुदका दुई कार्यक्रम अनिवार्य रुपमा आयोजना गर्नुपर्ने व्यवस्थाअनुरूप पाथीभरा स्कुले यसपटक भलिबल प्रतियोगिता आयोजना गरेको हो।