विराटनगरले जनकपुर बोल्ट्सलाई दियो १७५ रनको लक्ष्य

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भइरहेको खेलमा विराटनगरले जनकपुरलाई एक सय ७५ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर जनकपुरले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ७४ रन बनायो ।
खेलको पहिलो ओभरमै विराटनगरका ओपनर शेहान जयसूर्यालाई जनकपुरका मोइन अलीले आउट गरेका थिए । दुई रनको स्थितिमा पहिलो विकेट गुमाएको विराटनगरका लोकेश बम र इमरान शेखले इनिङ्स सम्हाल्दै उत्कृष्ट साझेदारी गरे । उनीहरूबीच दोस्रो विकेटका लागि एक सय सात रनको साझेदारी भएको थियो ।
५६ रन बनाएका इमरान शेख अभिषेक तिवारीको बलमा आउट भए । तिवारीले लोकेश बमलाई पनि पेभेलियन फर्काए । लोकेशले ५० रन बनाउँदै प्रतियोगितामा आफ्नो व्यक्तिगत दोस्रो अर्धशतक पूरा गरे ।
एक सय ९ रनको स्थितिमा तीन विकेट गुमाएको विराटनगरको ब्याटिङलाई चौथो नम्बरमा आएका विस्फोटक ब्याटर एन्ड्रे रसलले उकासे । रसलले उत्कृष्ट र आक्रामक ब्याटिङ गर्दै मात्र २९ बलमा अविजित ५२ रन बनाएर टोलीको स्कोरलाई सम्मानजनक स्थितिमा पुर्याए ।
जनकपुरतर्फबाट अभिषेक तिवारीले दुई र मोइन अलीले एक विकेट लिए । जनकपुरले अब एक सय ७५ रनको लक्ष्य पछ्याउनेछ ।