एसिया कप राइजिङ स्टार्समा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

एसिया कप राइजिङ स्टार्समा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

सिमरा: एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ। यसअघि पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले यूएईविरुद्ध उत्कृष्ट पुनरागमन गरेको हो।

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएई ३९.५ ओभरमा १२१ रन बनाउँदै अलआउट भएको थियो । यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ४० रन र हरप्रित सिंहले ३२ रन बनाउँदा नोरुल्लाह अयोबीले १२ रन जोडे ।

यूएईका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको कसिलो बलिङसामु यूएईको पारी सस्तैमा समेटिदा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३–३ विकेट लिए । त्यस्तै नन्दन यादव, रासिद खान र ललित राजवंशीले १–१ विकेट हात पारे ।

यूएईले प्रस्तुत गरेको १२२ रनको सामान्य लक्ष्य नेपालले मात्र २२ ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले। उनले ५६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । भुर्तेलले तेस्रो विकेटका लागि मयन यादवसँग ६१ रन र चौथो विकेटका लागि वसिर अहमदसँग ४३ रनको महत्त्वपूर्ण साझेदारी गरे ।

मयन यादवले २७ रनको योगदान दिँदा वसिर अहमद १८ रन र पवन सर्राफ ९ रनमा अविजित रहे । यूएईका बलरमध्ये मुहम्मद मोसिनले २ विकेट लिँदा उडिस सुरी र अंश तन्डनले १–१ विकेट लिए ।