पाथीभरा अन्तरविद्यालय पुरुष भलिबलमा स्नो एपेक्स, लोटस र राष्ट्रिय विभूति विजयी

सिमरा: सिमरामा जारी पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगितामा बुधबार सम्पन्न तीन खेलमा स्नो एपेक्स, लोटस एकेडेमी र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन विजयी भएका छन्।
पाथीभरा स्कुलमा सम्पन्न पहिलो खेलमा स्नो एपेक्सले सिमरा पब्लिक स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै शानदार जित दर्ता गर्यो। खेलको ‘प्लेयर अफ दि म्याच’ निरोज चौधरी घोषित भए।
दोस्रो खेलमा लोटस एकेडेमीले मिसन एकेडेमीलाई २–० ले हराउँदै दोस्रो चरणतर्फ अगाडि बढ्यो। जेम्स चौधरी खेलको ‘प्लेयर अफ दि म्याच’ बने।
तेस्रो खेलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले एकता स्कुललाई पनि २–० को सोझो सेटमै पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्यो। विभूतिका सिद्धान्त चौधरी ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
प्रतियोगिता अन्तर्गत बिहीबार आयोजक पाथीभरा र एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीबीच पहिलो खेल हुनेछ। त्यस्तै दोस्रो खेल राष्ट्रिय विभूति र स्नो एपेक्सबीच हुने जानकारी विद्यालयका प्रिन्सिपल लक्की रिमालले दिए।