सिड्नीमा पहिलोपटक भलिबल अवार्ड कार्यक्रम हुने, नेपाली खेलाडीलाई सम्मान गरिने

अस्ट्रेलिया: अस्ट्रेलियाको सिड्नीमा पहिलोपटक भलिबल अवार्ड कार्यक्रम आयोजना हुने भएको छ। नेपाल भलिबल संघ अस्ट्रेलिया (एनभिएए) को आयोजनामा साउन ४ गते (जुलाई १९) ‘भलिबल अवार्ड २०२५’ कार्यक्रम हुने भएको हो।
अवार्ड कार्यक्रम सिड्नीस्थित रकडेलको इन्द्रेणी फङ्सन सेन्टरमा भव्य रूपमा आयोजना हुनेछ। एनभिएएको आयोजनामा हुने यस कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली भलिबल खेलाडीहरूको योगदान र प्रदर्शनलाई सम्मान गरिनेछ। वर्षभर खुला पुरुषतर्फ आठ भन्दा बढी र महिलातर्फ पाँच भन्दा बढी प्रतियोगिता सिड्नीमा मात्रै हुँदै आएको छ।
एनभिएए अन्तरगत न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यमा १२ क्लब दर्ता छन्, जसअन्तर्गत १२ पुरुष टोली, ८ भेट्रान्स टोली र ६ महिला टोली सक्रिय छन्। संघले हरेक टोलीमा कम्तीमा एकजना राष्ट्रिय स्तरको खेलाडी राख्न पाउने व्यवस्था गरेको छ।
पुरुष र महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड
कार्यक्रममा पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, मिडल ब्लकर, सर्भर र लिबेरोलाई अवार्ड प्रदान गरिनेछ। महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर र सर्भरको विधामा अवार्ड वितरण गरिनेछ।
त्यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकलाई समेत सम्मान गरिने संघले जनाएको छ।
राष्ट्रिय खेलाडीहरूको सम्मान र सांस्कृतिक कार्यक्रम
अवार्ड कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका वर्तमान तथा पूर्व खेलाडीलाई विशेष सम्मान गरिने छ। पूर्व कप्तान मानबहादुर श्रेष्ठसहित अन्य राष्ट्रिय स्तरका पूर्व खेलाडीहरूको सहभागिताले कार्यक्रमलाई अझ भव्य बनाउने आयोजकको अपेक्षा छ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा रात्रिभोज समेत समावेश गरिएको छ।
सिड्नीमा सक्रिय नेपाली भलिबल क्लबहरू
सिड्नीमा नेपाली समुदायद्वारा सञ्चालित ढोरपाटन क्लब, म्याग्दी जलजला परिवार, मोना अस्ट्रेलिया, द गोर्खा स्पोर्ट्स क्लब, थकाली सेवा समिति, गल्कोट समाज, मंगला समाज, छन्त्याल परिवार, म्याग्दी काली युनाइटेड, पोखरा भलिबल क्लब, पर्वत बेनी र गोल्डेन ब्वाइज भलिबल क्लबजस्ता संस्थाहरू भलिबल गतिविधिमा सक्रिय छन्।
हाल अस्ट्रेलियामा पूर्व राष्ट्रिय खेलाडी टेकराज अवस्थी, विशाल बहादुर बिक, लोकेन्द्रराज गिरी, हेमन्त बहादुर मल्ल, सम्राट भण्डारी, राजु शेरचन, राजेन्द्र विष्ट र दिलबहादुर सुनार छन्। महिलातर्फ प्रतिभा माली र सरस्वती चौधरीले अस्ट्रेलियामै सक्रियता जनाइरहेका छन्।
कार्यक्रमले नेपाली समुदायबीच भलिबलप्रतिको लगावलाई बढाउँदै राष्ट्रिय खेलको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अपेक्षा गरिएको छ।