सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएल फाइनलमा, उपाधिका लागि लुम्बिनी लायन्ससँग भिड्ने

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएल फाइनलमा, उपाधिका लागि लुम्बिनी लायन्ससँग भिड्ने

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले ७ विकेट गुमाउँदै १३६ रन बनाएर पूरा गर्‍यो ।

सुदूरपश्चिम रोयल्सको जितमा थारिन्दु रत्नायके नायक बने । उनले ४२ बलमा ७ चौकाको मद्दतले अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई फाइनलसम्म पुर्‍याए । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले २३ रन जोड्दा कप्तान दीपेन्द्र सिंह ऐरी १५ रनमा कट बिहाइन्ड भए। त्यस्तै, इशान पाण्डे १० रनमा कट एण्ड बोल्ड भए भने आरिफ शेख १० रनमै बोल्ड आउट भए । चितवन राइनोजका बलर रञ्जित कुमारले २ विकेट हात पारे भने कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रनको योगफल तयार पारेको थियो । चितवनका लागि डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७१ रनको शानदार अर्धशतकीय पारी खेले । सलाउद्दिन खानले १८ तथा कमल सिंह ऐरीले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिए । थारिन्दु रत्नायकेले २ विकेट चट्काउँदा हेमन्त धामी र इशान पाण्डेले १–१ विकेट आफ्नो नाममा लेखाए ।

यो हारसँगै तेस्रो स्थानमा रहेर प्रतियोगिता टुङ्ग्याएको चितवन राइनोजले ४० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

सुदूरपश्चिमले भने उपाधिका लागि शनिबार साविक विजेता लुम्बिनी लायन्सको सामना गर्नेछ । यसअघिको संस्करणको फाइनलमा पनि यिनै दुई टोलीबीच उपाधि भिडन्त भएको थियो । अघिल्ला दुवै संस्करणको फाइनलमा पराजित भएको सुदूरपश्चिम तेस्रो प्रयासमा उपाधि उचाल्ने लक्ष्यमा हुनेछ भने लुम्बिनी लायन्स आफ्नो उपाधि रक्षा गर्ने दाउमा मैदान उत्रनेछ ।