टेनिसमा नेपालको चुनौती समाप्त, प्रदीप र अभिशेक डबल्समा पनि पराजित

टेनिसमा नेपालको चुनौती समाप्त, प्रदीप र अभिशेक डबल्समा पनि पराजित

नागोया (जापान): जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत टेनिसतर्फ नेपालको यात्रा औपचारिक रूपमा समाप्त भएको छ । नागोयास्थित हिगासियामा पार्क टेनिस सेन्टरमा मंगलबार भएका एकल तथा डबल्सका खेलहरूमा पराजय भोगेसँगै नेपाली खेलाडीहरूको चुनौती सकिएको हो ।

पुरुष डबल्सतर्फ प्रदीप खड्का र अभिशेक बास्तोलाको जोडी भारतीय जोडी अनिरुद्ध चन्द्रशेखर र नारायणस्वामी बालाजीसँग ६–२, ६–१ को सोझो सेटमा पराजित भयो । डबल्सअघि मंगलबार नै भएको पुरुष एकलको दोस्रो चरणका खेलहरूमा पनि दुवै खेलाडीले हार व्यहोरेका थिए । पहिलो चरणमा ‘बाई’ पाउँदै सोझै दोस्रो चरण खेलेका अभिशेक काजकिस्तानका एलेक्जेन्डर सेभचेन्कोसँग ६–२, ६–२ तथा प्रदीप थाइल्यान्डका कासिदित सामरेजसँग ६–२, ६–२ को समान अन्तरले पराजित भए ।

यसैगरी मिक्स्ड डबल्समा पनि स्वस्तिका विष्ट र निसान श्रेष्ठको जोडीले जित निकाल्न सकेन । नेपाली जोडी इन्डोनेसियाका एल्डिला सुत्जियादी र क्रिस्टोफर रुङ्काटसँग ६–१, ६–१ ले पराजित भएपछि टेनिसका सबै स्पर्धाबाट नेपाल बाहिरिएको छ ।