सोमपालको अलराउण्ड प्रदर्शनमा कर्णालीको जित

सिमराः कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले बलिङ रोजेको कर्णालीले विराटनगरलाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गर्दै विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८६ रनको बलियो योगफल खडा गर्यो ।
विराटनगरका लागि ओपनर लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै ५२ बलमा नौ छक्का र तीन चौकाको मद्दतले ८७ रन बनाए । त्यस्तै एन्जेलो म्याथ्युजले ३७, एन्ड्रे रसलले २७ र बसिर अहमदले १३ रन जोडे ।
बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले घातक बलिङ गर्दै चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक-एक विकेट हात पारे ।
एक सय ८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कर्णालीले अन्तिम एक बल बाँकी छँदा ६ विकेट गुमाएर रोमाञ्चक जित दर्ता गर्यो । कर्णालीको जितमा कप्तान सोमपाल कामीले ब्याटिङमा पनि उत्कृष्ट योगदान दिँदै ३२ बलमा तीन छक्का र चार चौकाको मद्दतमा अविजित ६२ रनको विष्फोटक पारि खेले । सातौं नम्बरमा मैदान पसेका सोमपाल खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
त्यसैगरी कर्णालीका लागि पवन सर्राफले ३६, अरिफुल इस्लामले ३२, गुलशन झाले २८ र दीपक डुम्रेले २० रन बनाउँदै जितको आधार तय गरे । बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने, प्रतिश जिसी र चरिथ असलंकाले एक-एक विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई आठ विकेटले पराजित गरेको थियो ।