राहुलको उत्कृष्ट बलिङ र मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित

राहुलको उत्कृष्ट बलिङ र मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित

सिमराः नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजविरुद्ध आठ विकेटको शानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा काठमाडौं गुर्खाजले प्रस्तुत गरेको एक सय १५ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा सजिलै पूरा गर्दै जित हात पारेको हो ।

जनकपुरको जितमा अलराउन्डर मोइन अलीले ५८ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले भने सैफ हसनले ४० रनको महत्वपूर्ण योगदान दिए । पाकिस्तानी खेलाडी फर्किएपछि अन्तिम समयमा टोलीमा आबद्ध भएका सैफले जनकपुरलाई पहिलो जित दिलाउन उल्लेखनीय भूमिका निभाए ।

टिमको स्कोर सात रन हुँदा ओपनर तृतराज दासलाई गुमाएर दबाबमा आएको जनकपुरको इनिङ्सलाई मोइनले सम्हालेका थिए । त्यसपछि ३७ रनको स्थितिमा मयन यादव रनआउट भएपछि क्रिजमा आएका सैफ हसनले मोइनलाई बलियो साथ दिए । बलिङतर्फ काठमाडौंका रिपोन मण्डलले एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय १५ रन मात्र बनाउन सक्यो । काठमाडौंको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा राहुल यादवले आक्रामक र धारिलो बलिङ गरे । राहुलले चार ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण चार विकेट हात पारे । उत्कृष्ट प्रदर्शन गरेका राहुल खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

बलिङतर्फ जनकपुरका सैफ हसनले दुई विकेट लिए भने मोइन अली, हरमित सिंह र ललित राजवंशीले समान एक-एक विकेट आफ्नो नाममा गरे ।

जितसँगै जनकपुरले प्रतियोगितामा पहिलो दुई अंक जोड्न सफल भएको छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भई दबाबमा परेको जनकपुरले यस जितसँगै प्रतियोगितामा सुखद पुनरागमन गरेको छ ।