कास्य पदक जित्न सफल कबड्डी टोली स्वदेश फिर्ता

कास्य पदक जित्न सफल कबड्डी टोली स्वदेश फिर्ता

सिमराः २०औं एसियाली खेलकुदमा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको टोलीलाई खेलप्रेमी, पदाधिकारी तथा समर्थकहरूले स्वागत गरेका छन्।

प्रतियोगिताको सेमिफाइनल खेलमा शक्तिशाली टोली भारतसँग ४८–२४ अंकले पराजित भएपछि नेपालले कास्य पदकमै चित्त बुझाएको थियो ।

स्वदेश फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै टोलीकी कप्तान मानमती विष्टले टोलीको मुख्य सपना फाइनल पुग्ने भए तापनि सेमिफाइनलमै भारतसँगको भेट निकै चुनौतीपूर्ण बनेको बताइन् । कप्तान विष्टले पर्याप्त पूर्वाधार, आफ्नै कभर्ड हल र कबड्डी ग्राउन्डको अभाव पहिलेदेखि नै रहेको भए पनि खेलाडीहरूले ती समस्यालाई बिर्सिएर खेलमा केन्द्रित भएको उल्लेख गरिन् ।

नेपालले समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेइसँग हार व्यहोरेको थियो। त्यसपछि समूह चरणको अन्तिम तथा निर्णायक खेलमा श्रीलङ्कालाई पराजित गर्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो ।