एसियन गेम्स बक्सिङ: चन्द्र बहादुर र रमिशा पहिलो खेलमै पराजित, नेपालको पदक आशामा धक्का

नागोया (जापान): २०औं एसियन गेम्स २०२६ अन्तर्गत बक्सिङतर्फ नेपालका लागि आजको दिन निराशाजनक बनेको छ । ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नेपाली मुक्केबाज चन्द्र बहादुर थापा पहिलो खेलमै पराजित भएका छन् । उनी भारतका प्रतिस्पर्धी मन्देङबम जादुमनी सिंहसँग ५-० को फराकिलो अंकले पराजित हुन पुगेका हुन् ।
यसअघि दुबईमा आयोजना भएको विश्व बक्सिङ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक जितेका कारण चन्द्र बहादुरबाट नेपालले यसपटक पनि पदकको ठूलो आशा राखेको थियो । तर पहिलो खेलमै हार बेहोरेपछि उनको पदक यात्रा यहीँ सकिएको छ ।
यसै गरी आजै भएको महिलातर्फको खेलमा पनि नेपालले सफलता पाउन सकेन । बक्सिङ खेलाडी रमिशा श्रेष्ठ भियतनामकी खेलाडी एनगुएन थि टामसँग ५-० ले नै पराजित भएकी छन् । दुवै खेलाडी पहिलो चरणबाटै बाहिरिएपछि एसियन गेम्सको बक्सिङमा नेपालको सुरुआत कमजोर बनेको छ ।