एसियाली खेलकुद: एरिका पदकविहीन, कास्य पदकको स्पर्धामा पराजित

नागोया (जापान): स्टार कराते खेलाडी एरिका गुरूङ जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदमा पदकविहीन बनेकी छिन् । शनिबार भएको कराते महिला ६८ केजी माथिको तौल समूहको रिपिचेजअन्तर्गत कास्य पदकको प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मुस्तफा डिना अहमदसँग ८-७ को झिनो अन्तरले पराजित भइन् ।
प्रतिस्पर्धात्मक बनेको खेलमा अन्तिम समयसम्म सङ्घर्ष गरे पनि एरिका कास्य पदक जित्नबाट चुकिन् । यसअघि एरिका सेमिफाइनलमा आफ्नै पुरानै प्रतिद्वन्द्वी काजकास्तानकी सोफ्या बेरूत्सेभासँग २-१ को अङ्क अन्तरमा पराजित भएकी थिइन् ।
खेलको सुरुवातमा १-० को अग्रता लिँदै एरिकाले उत्कृष्ट सुरुआत गरेकी थिइन् । त्यसपछि सोफियाले १ अङ्क फर्काएपछि खेल १-१ को बराबरीमा पुगेको थियो । खेल सकिन १६ सेकेन्ड बाँकी रहँदासम्म दुवै खेलाडी १-१ को बराबरीमा थिए । सोही समयमा दुवै टोलीका प्रशिक्षकले भिडियो रिभ्युको माग गरेका थिए । भीआर म्याचपछि सोफियाले थप अङ्क प्राप्त गर्दै २-१ को जित निकालिन् भने एरिका पराजित भइन् ।
सेमिफाइनलको पराजयसँगै एरिकाको स्वर्ण र रजत पदक जित्ने यात्रामा पूर्णविराम लागेको थियो । प्रतियोगिताको पहिलो खेलमा एरिकाले उत्कृष्ट प्रदर्शन गर्दै जोर्डनकी यारा नासिरलाई ७-१ ले सहजै हराएर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी थिइन् ।
गत १९ औं संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक दिलाएकी एरिका यसपटक भने उत्कृष्ट प्रदर्शनका बाबजुद पदकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिनुपरेको छ ।