दशौं राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २७ गतेसम्म कर्णालीमा हुने

दशौं राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २७ गतेसम्म कर्णालीमा हुने

सिमराः लामो पर्खाइपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ । प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बैठकको सिफारिसका आधारमा शुक्रबार निर्णय गरेको हो । प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित विभिन्न जिल्लाहरूमा सञ्चालन गरिनेछ ।

यसअघि राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न भएको थियो । त्यसयता विभिन्न कारणले राष्ट्रिय स्तरको यो ठूलो खेलकुद महोत्सव आयोजना हुन सकेको थिएन ।

खेलकुदका माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित र अनुशासित खेलाडीका साथै सिर्जनशील नागरिक तयार पार्ने मुख्य उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दशौं राष्ट्रिय खेलकुदलाई भव्य, सभ्य र व्यवस्थित ढङ्गले सफल बनाउन सबै प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायलाई योजनाबद्ध तयारीमा जुट्न आह्वान गरेको छ । प्रतियोगितामा देशभरका खेलाडीहरूको उत्साहजनक सहभागिता रहने र अनुशासित खेल प्रदर्शन हुने विश्वास लिइएको छ ।