एसीसी प्रिमियर कप: नेपालद्वारा बहराइन सात विकेटले पराजित

एसीसी प्रिमियर कप: नेपालद्वारा बहराइन सात विकेटले पराजित

सिमराः एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनमाथि सात विकेटको सहज जित हात पारेको छ । मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा सम्पन्न खेलमा बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

नेपालको जितमा ओपनर अर्जुन कुमालले अविजित ३६ रनको सर्वाधिक योगदान दिए । उनले ५८ बल खेल्दै पाँच चौका प्रहार गरे । यस्तै रोहित पौडेल १९ रनमा अविजित रहँदा आसिफ शेखले १८ रन र देव खनालले १० रन जोडे । बहराइनका तर्फबाट लिइएका तिनै विकेट इम्रान जावेद अन्वरले हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन नेपाली बलर सामु निरीह देखियो । बहराइन ३६.२ ओभरमा मात्र ८७ रनमा अलआउट हुन पुग्यो । बहराइनका लागि फेज अहमदले १५ रन, मोहम्मद वासिमले १३ रन तथा तल्लो क्रमका ब्याटर अलि दाउदले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बहराइनलाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले कप्तानी प्रदर्शन गर्दै किफायती बलिङ गरे । उनले १० ओभरमा चार मेडन राख्दै मात्र १४ रन खर्चेर पाँच विकेट लिए । त्यस्तै ललित राजवंशीले तीन र करण केसीले दुई विकेट लिएका थिए ।

प्रतियोगितामा सुखद सुरुवात गरेको नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार आयोजक मलेसियासँग खेल्नेछ ।