रवीन्द्र ढाँट ‘रोड टु युएफसी’ सिजन-५ को फाइनलमा

रवीन्द्र ढाँट ‘रोड टु युएफसी’ सिजन-५ को फाइनलमा

सिमराः नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन-५ को फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा सेमिफाइनलमा शुक्रबार न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन् ।

जितसँगै रवीन्द्र प्रतिष्ठित ‘रोड टु युएफसी’को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन् । अब फाइनल जित्न सकेको खण्डमा उनले विश्वकै सबैभन्दा प्रतिष्ठित एमएमए संस्था ‘युएफसी’ सँग व्यावसायिक सम्झौता गर्ने स्वर्ण अवसर प्राप्त गर्नेछन् ।

‘बझाङ्गी बाघ’ उपनामले चिनिने रवीन्द्रले आफ्नो व्यावसायिक एमएमए करिअरमा अहिलेसम्म ११ खेल खेलेका छन् । जसमध्ये १० खेलमा जित र १ खेलमा मात्र हार व्यहोरेका छन् । सन् २०२३ मा इस्माइल खानसँग व्यहोरेको एक मात्र हारपछि उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

ढाँट गत मे महिनामा मकाउमा सम्पन्न क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनल जितसँगै अब सिङ्गो देशको ध्यान ढाँटको आगामी ऐतिहासिक फाइनल भिडन्तमा केन्द्रीत हुने भएको छ ।