अन्तर्राष्ट्रिय रेफ्री बब्लु सिवाकोटी जापानमा हुने २०औं एसियाली खेलकुदको रेफ्रीमा छनौट

सिमराः तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बब्लु सिवाकोटी जापानमा आयोजना हुने २०औं एसियाली खेलकुद (एशियन गेम्स) का लागि रेफ्री (निर्णायक) पदमा छनौट भएका छन् । एसिएन तेक्वान्दो युनियनले इमेलमार्फत आधिकारिक जानकारी दिँदै सिवाकोटीलाई उक्त प्रतिष्ठित खेलकुद प्रतियोगिताका लागि रेफ्रीमा चयन गरिएको जनाएको हो ।
लामो समयदेखि खेल क्षेत्रमा सक्रिय सिवाकोटीले यसअघि पनि राष्ट्रिय तथा देशविदेशका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरूमा सफलतापूर्वक रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् ।
एसियाली महादेशकै सबैभन्दा ठूलो खेलकुद महोत्सव मानिने एसियाली खेलकुदमा सिवाकोटीको यो छनौटले नेपाली तेक्वान्दो क्षेत्रका साथै सिङ्गो खेलकुद जगतकै लागि गौरव बढाएको बताइएको छ । सिवाकोटी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य समेत हुन् ।