११औं राष्ट्रिय खेलकुद मधेस प्रदेशमा हुने, मंसिर १६ गतेदेखि १०औं सुरु हुने

११औं राष्ट्रिय खेलकुद मधेस प्रदेशमा हुने, मंसिर १६ गतेदेखि १०औं सुरु हुने

सिमराः ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको १२५औं बोर्ड बैठकले ११औं संस्करणको राष्ट्रिय खेलकुद मधेस प्रदेशमा गराउने निर्णय गरेको हो।

मधेस प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव शिवजी गुप्ताका अनुसार आगामी १०औं राष्ट्रिय खेलकुदको आयोजना मिति तय गरिएसँगै ११औं प्रतियोगिताको आयोजक प्रदेशको विषयमा पनि टुंगो लगाइएको हो । गुप्ता स्वयं राखेपको उक्त बोर्ड बैठकमा सहभागी थिए ।

यसैगरी पटकपटक स्थगित हुँदै आएको १०औं राष्ट्रिय खेलकुद भने आगामी मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा राखेप सदस्य सचिव रामचरित्र मेहता, विभिन्न प्रदेश खेलकुद विकास परिषद्का प्रमुखहरू, राखेप बोर्डका पदाधिकारी तथा सदस्यहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।