बागमती प्रदेश सरकारद्वारा तेक्वान्दो संघलाई आधुनिक सेन्सर सिस्टम र खेलकुद सामग्री हस्तान्तरण

ललितपुर: तेक्वान्दो खेलको विकास, खेलाडीको प्रशिक्षणलाई वैज्ञानिक बनाउन र प्रतियोगिताहरूमा आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले बागमती प्रदेश सरकारले नेपाल तेक्वान्दो संघलाई आवश्यक खेलकुद सामग्री तथा आधुनिक सेन्सर सिस्टम हस्तान्तरण गरेको छ।
ललितपुरको थसीखेलस्थित महालक्ष्मी पार्टी भेन्युमा आयोजित एक विशेष कार्यक्रमकाबीच बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका प्रतिनिधिहरूलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीको नेतृत्वमा रहेको टोलीलाई हस्तान्तरण गरिएको यो सेन्सर सिस्टमले तेक्वान्दो प्रशिक्षण र प्रतियोगितालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास लिइएको छ । प्रदेश सरकारको यो सहयोगले खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रशिक्षणको गुणस्तर सुधार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि दक्ष खेलाडी तयार पार्न ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।
संघका सदस्य भास्कर श्रेष्ठले आधुनिक प्रविधिको प्रयोगले खेल र निर्णयको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । बागमती प्रदेश सरकारको खेलकुद क्षेत्रप्रतिको लगानी र सहयोगले प्रदेशभित्रका खेलाडीहरूको मनोबल उच्च बनाउनुका साथै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीको उपस्थिति प्रभावशाली हुने श्रेष्ठको भनाइ छ ।
