सन्दीप लामिछाने पुन: ओडिआई टोलीको कप्तान, एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय टोली घोषणा

सन्दीप लामिछाने पुन: ओडिआई टोलीको कप्तान, एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय टोली घोषणा

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने चार वर्षपछि पुनः एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) टोलीको कप्तानमा फर्किएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि सोमबार सन्दीपको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले नियमित कप्तान रोहित पौडेललाई जिम्मेवारीबाट हटाउँदै कप्तानीको बागडोर सन्दीपलाई सुम्पेको हो ।

सन्दीपले यसअघि पहिलोपटक सन् २०२१ मा नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । योसँगै रोहितको झन्डै चार वर्ष लामो कप्तानी यात्राको अन्त्य भएको छ। यसअघि केही महिना पहिले नै रोहितलाई हटाएर दीपेन्द्र सिंह ऐरीलाई टी-२० टोलीको कप्तान बनाइएको थियो ।

नयाँ टोली घोषणा गर्दा क्यानले केही सिनियर तथा नियमित खेलाडीहरूलाई बाहिर राख्दै राख्दै युवा खेलाडीलाई सहभागी गराएको छ । नियमित ओपनर कुशल भुर्तेल, तीव्र गतिका बलर सोमपाल कामी र आरिफ शेखलाई टोलीबाट ड्रप गरिएको छ भने नन्दन यादवलाई चोटका कारण टोली बाहिर राखिएको छ ।

उनीहरूको स्थानमा सन्दीप जोरा, देव खनाल, बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाउन सफल भएका छन् ।