अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता खेल्न थाइल्याण्ड जाँदै कोल्हवीका सुलभ चौधरी

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता खेल्न थाइल्याण्ड जाँदै कोल्हवीका सुलभ चौधरी

सिमराः बाराको कोल्हवीका युवा कराते खेलाडी सुलभ चौधरी थाइल्यान्डमा आयोजना हुने १६औं ओपन कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएका छन्।

थाइल्यान्ड कराते महासंघको आयोजनामा आगामी अगस्ट १४ देखि १६ (साउन २९ देखि ३१ गते) सम्म सञ्चालन हुने सो प्रतियोगितामा विश्वका २५ भन्दा बढी राष्ट्रका खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सुलभले दुई फरक विधा ४० केजी तौल समूह (फाइट/कुमिते) र अन्डर-१२ व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्नेछन् ।

सुलभ यसअघि पनि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गरिसकेका प्रतिभावान खेलाडी हुन्। उनले हालै जुलाई १५ देखि १९ सम्म बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि कास्य पदक जितेका थिए।

लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको झण्डा फहराउँदै आएका चौधरीले यसपटक पनि थाइल्यान्डमा हुने प्रतिस्पर्धाबाट मुलुकका लागि पदक भित्र्याउने विश्वास गरिएको छ।