जापान एसियाडमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने, एक सय ४१ खेलाडी सहभागी हुने सम्भावना

जापान एसियाडमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने, एक सय ४१ खेलाडी सहभागी हुने सम्भावना

काठमाडौंः जापानमा आयोजना हुने २० औं एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ वटा खेलमा सहभागिता जनाउने पक्का भएको छ। विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजित ‘नेपाल इन एसियन गेम्स’ अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव राम चरित्र मेहताले यस्तो जानकारी दिएका हुन् ।

सदस्य सचिव मेहताका अनुसार एसियाडका लागि २३ वटा खेलको संख्या निश्चित भइसकेको छ भने खेलाडी संख्याको हकमा भने केही प्राविधिक विषय मिलाउन बाँकी छ। यस पटक नेपालबाट करिब एक सय ४१ जना खेलाडीले प्रतिस्पर्धा गर्ने सम्भावना रहेको उनले बताए । यसअघि राखेपमा खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कुल एक सय ९४ जनाको टोली सहभागी गराउने विषयमा सहमति भइसकेको छ ।

यो पटक नेपालले सहभागिता जनाउने खेलहरूमा गत संस्करणमा ऐतिहासिक पदक जित्न सफल कराते र महिला कबड्डीसहित कुस्ती, उसु, पुरुष क्रिकेट, एथलेटिक्स, जुडो, महिला भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, ब्रेकिङ एण्ड डान्स स्पोर्ट्स, साइक्लिङ, इस्पोर्ट्स, गल्फ, राफ्टिङ एण्ड क्यानोइङ, पौडी, स्क्वास, सफ्ट टेनिस, स्केट एण्ड स्केट बोर्डिङ, टेबल टेनिस, आर्चरी, बक्सिङ र टेनिस रहेका छन् ।

गत १९ औं संस्करणमा नेपालले २६ खेलमा भाग लिएकोमा यसपटक फुटबल, भारोत्तोलन र क्लाइम्बिङ स्पोर्ट्सलाई हटाइएको छ । चीनमा भएको गत संस्करणमा करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टोलीले कास्य पदक जितेका थिए ।

तयारी र खर्चबारे जानकारी दिँदै सदस्य सचिव मेहताले सरकारले एसियाडको विशेष तयारीका लागि २ करोड ८० लाख रुपैयाँ तथा प्रतियोगितामा सहभागिता जनाउनका लागि ११ करोड २० लाख रुपैयाँ विनियोजन गरेको बताए ।

२०औं एसियाली खेलकुद आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा सञ्चालन हुँदैछ।