बाराले जित्यो छैटौं डुमरवाना यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि

बाराले जित्यो छैटौं डुमरवाना यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि

सिमराः बारा जिल्लाले छैटौं डुमरवाना यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार डुमरवाना खेल मैदानमा सम्पन्न फाइनल खेलमा रौतहटलाई ४ विकेटले पराजित गर्दै बाराले उपाधि आफ्नो नाममा गरेको हो ।

फाइनलमा रौतहटले दिएको १६१ रनको लक्ष्य बाराले ६ विकेट गुमाएर पूरा गर्यो । बाराको जितमा साहिल पटेलले अविजित ४० रनको महत्वपूर्ण योगदान दिए । ओपनर सुशान्त सिंहले ३५ रन बनाउँदा निरज यादवले ३४ तथा प्रियांश सर्राफले २८ रन जोडे ।

रौतहटका राहुल यादव र आशिक बैठाले दुई/दुई विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रौतहट २८.१ ओभरमा सबै विकेट गुमाउँदै १६० रनमा समेटिएको थियो । रौतहटका लागि ओपनर बिजय गुप्ताले सर्वाधिक ३९ रन बनाए । राहुल यादवले ३६, माही यादवले ३२ तथा प्रिन्स यादवले ३१ रनको योगदान दिए ।

बाराका धिरेन्द्र पासवान र रोहन साहले समान तीन/तीन विकेट लिए । प्रियांश सर्राफ, जयदीप सहनी र खिलराज सर्राफले एक/एक विकेट हात पारे ।

प्रतियोगिताको विजेता बाराले नगद १ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता रौतहटले ५० हजार रुपैयाँमा चित्त बुझायो ।

बाराका साहिल पटेल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले उत्कृष्ट ब्याटर तथा फाइनल खेलको प्लेयर अफ दि म्याचको उपाधि समेत हात पारे । उत्कृष्ट बलरतर्फ बाराकै खिलराज सर्राफ घोषित भए ।

विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडा नम्बर १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रगतिशील युवा क्लबको आयोजनामा वैशाख १८ गतेदेखि सुरु भएको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।