बागमतीको जित, एपीएफको रोमाञ्चक प्रदर्शन

बागमतीको जित, एपीएफको रोमाञ्चक प्रदर्शन

सिमराः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती प्रदेश र एपीएफ क्लबले महत्वपूर्ण जित हात पारेका छन् । वीरगन्जस्थित नारायणी मैदान र जनकपुरको रामजानकी मैदानमा भएका खेलमा बागमतीले मधेसलाई तथा एपीएफले कोशीलाई पराजित गरेका हुन् ।

नारायणी मैदानमा भएको खेलमा बागमतीले २०८ रनको लक्ष्य पछ्याएको मधेसलाई १७३ रनमै समेट्दै ३५ रनको जित निकालेको हो। बागमतीको जितमा प्रतिश जिसी नायक बने । उनले ९.३ ओभरमा ५५ रन खर्चिएर पाँच विकेट लिँदै मधेसको ब्याटिङ लाइनअप धरासायी बनाए। उत्कृष्ट प्रदर्शनका लागि उनी प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतिशले मधेसका कप्तान अनिल साहसहित मयन यादव, पवन सर्राफ, अरनिको यादव र प्रदीप पासवानलाई आउट गरे। रिजन ढकालले दुई विकेट लिँदा कप्तान सन्दीप लामिछाने र सुवास खत्रीले समान एक/एक विकेट लिए ।

मधेसका लागि ओपनर मयन यादवले सर्वाधिक ४० रन बनाए । आदिल आलमले २७, अनिल साहले २६, विशाल सुस्लिङले २१ र महमद समीरले १६ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २०८ रन बनाएको थियो । उत्तम मगरले सर्वाधिक ४४ रन बनाए भने कप्तान सन्दीप लामिछानेले ३६ रनको योगदान दिए। ओपनर रिङझिङ लामाले २९ तथा आशुतोष घिरैयाले १८ रन जोडे ।

मधेसका पवन सर्राफले तीन विकेट लिए भने आदिल आलम र रञ्जित कुमारले दुई/दुई विकेट हात पारे । प्रदीप पासवान, विशाल पटेल र अरनिको यादवले समान एक/एक विकेट लिए ।

यस जितसँगै बागमती आठ खेलबाट आठ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने मधेस नौ अंकसहित चौथो स्थानमा कायम छ ।

उता जनकपुरस्थित रामजानकी मैदानमा एपीएफ क्लबले कोशी प्रदेशमाथि पाँच रनको रोमाञ्चक जित निकाल्यो । २२५ रनको लक्ष्य पछ्याएको कोशी २२० रनमै रोकिँदा एपीएफ विजयी बनेको हो ।

अन्तिम ओभरमा ९ रन आवश्यक रहेको अवस्थामा कोशीले लगातार दुई विकेट गुमाएपछि जित हात पार्ने सम्भावना गुमाएको थियो । आठ खेल खेलिसकेको कोशी अझै जितविहीन रहेको छ ।

कोशीका ओपनर अंकित सुवेदी र सुमन श्रेष्ठले पहिलो विकेटका लागि १२२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । अंकितले ७२ र सुमनले ६५ रन बनाए । तर, एपीएफका अभिषेक गौतमले २६औं ओभरमा उक्त साझेदारी तोडेपछि खेलको मोड परिवर्तन भयो ।

प्लेयर अफ दि म्याच बनेका अभिषेकले लगातार विकेट लिँदै कोशीलाई दबाबमा पारे । १२८ रनमै चार विकेट गुमाएको कोशीलाई रोहन साहले सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

एपीएफका लागि अभिषेकले चार विकेट लिए भने कप्तान रोहित पौडेलले दुई विकेट हात पारे । अमर रौतेला र भूवन कार्कीले समान एक/एक विकेट लिए ।

यसअघि एपीएफले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनाएको थियो। सन्दीप जोराले ७२ रन बनाए भने सुमित महर्जनले ५७ रनको अर्धशतकीय इनिङ खेले । अमर रौतेला, रोहित पौडेल र युवराज खत्रीले पनि क्रमशः २७, २० र ११ रन जोडे ।

कोशीका सुजन थपलियाले तीन विकेट लिए भने विपिन महतो, दीपेश कंडेल र रोहन साहले समान एक/एक विकेट लिए ।

जितसँगै एपीएफ आठ खेलबाट ९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने कोशीले सातौं हार व्यहोरेको छ । आठ खेलमध्ये एक खेल वर्षाले प्रभावित हुँदा अंक बाँडेको कोशीले बाँकी सात खेलमा हार भोगेको छ ।