प्रधानमन्त्री कप: आर्मीको अपराजित यात्रा कायम, गण्डकीद्वारा एपीएफ स्तब्ध

प्रधानमन्त्री कप: आर्मीको अपराजित यात्रा कायम, गण्डकीद्वारा एपीएफ स्तब्ध

सिमराः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ भने गण्डकी प्रदेशले विभागीय टोली एपीएफ क्लबमाथि रोमाञ्चक जित दर्ता गरेको छ।

माथिल्लो मूलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशलाई तीन विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। वर्षाका कारण २८ ओभरमा झारिएको खेलमा बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले २७.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

आर्मीको जितका मुख्य नायक कुशल मल्ल रहे। उनले मात्र ५८ बलमा ८ छक्का र ३ चौका प्रहार गर्दै अविजित ९० रन बनाए। अन्तिम २ बलमा ५ रन आवश्यक भएको कठिन मोडमा मल्लले रिजन ढकाललाई छक्का प्रहार गर्दै टोलीलाई जिताए। ओपनर तृतराज दासले ५४ रनको अर्धशतकीय पारी खेले भने नरेन साउदले २६ रन जोडे।

यसअघि ब्याटिङ गरेको बागमतीले ७ विकेट गुमाएर २०८ रन बनाएको थियो। आशुतोष घिरौयाले ३८ र पवन थापाले ३५ रन बनाए। बलिङतर्फ आर्मीका नरेन साउदले ४ विकेट लिएका थिए। यस जितसँगै आर्मी ४ खेलबाट ७ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ।

तल्लो मूलपानी मैदानमा भएको अर्को खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई ४३ रनले हराउँदै प्रतियोगितामा पहिलो सफलता हात पारेको छ। वर्षाका कारण २१ ओभरमा छोट्याइएको खेलमा गण्डकीले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १५० रन बनाएको थियो।

१५१ रनको लक्ष्य पछ्याएको एपीएफ १८.३ ओभरमा मात्र १०७ रनमा अलआउट भयो। एपीएफका लागि सुमित महर्जनले २२ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। कप्तान रोहित पौडेल मात्र ३ रनमा आउट भए।

गण्डकीका लागि अपराजित पौडेल र सिविन श्रेष्ठले समान ३–३ विकेट लिएर एपीएफको पारी धरासायी बनाए।

प्रतियोगिता अन्तर्गत सोमबार वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुनेछ भने जनकपुरमा मधेस प्रदेश र कर्णाली भिड्नेछन् ।