प्रधानमन्त्री कप क्रिकेट: आर्मी र पुलिसको शानदार जित

प्रधानमन्त्री कप क्रिकेट: आर्मी र पुलिसको शानदार जित

सिमराः: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार तल्लो र माथिल्लो मूलपानी मैदानमा सम्पन्न खेलहरूमा विभागीय टोली त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

तल्लो मूलपानी मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेश लाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। गण्डकीले दिएको २१० रनको लक्ष्य आर्मीले ३ विकेट गुमाउँदै ३४ ओभरमा सहजै पूरा गर्‍यो ।

आर्मीको जितमा कप्तान बिनोद भण्डारीले ५८ रन बनाउँदा तृतराज दासले ५१ रन जोडे। भीम सार्कीले अविजित ५४ रनको योगदान गर्दा कुशल मल्लले ४३ रन बनाए। गण्डकीका सुवास भण्डारीले २ तथा विपिन खत्रीले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी ४९.४ ओभरमा २०९ रनमै समेटिएको थियो। अर्जुन कुमालले ६७ र दीपक डुम्रेले ५१ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

आर्मीका साहब आलम र आकाश चन्दले समान ३–३ विकेट लिए भने कुशल मल्लले २ विकेट हात पारे। उत्कृष्ट प्रदर्शनका लागि मल्ल ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

माथिल्लो मूलपानी मैदानमा भएको अर्को खेलमा पुलिसले बागमती प्रदेश लाई ७ विकेटले हरायो। बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा पूरा गर्‍यो।

पुलिसको जितमा शंकर रानाले उत्कृष्ट शतकीय पारी खेले। शंकर राना ले १२८ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै ११६ रन बनाए र ‘प्लेयर अफ दि म्याच’ घोषित भए। दिनेश खरेलले ७० रन जोड्दा कप्तान आरिफ शेख ४३ रनमा अविजित रहे।

बागमतीका कप्तान सन्दीप लामिछाने सहित रिजन ढकाल र सुवास खत्रीले समान १–१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको बागमतीले ४९.२ ओभरमा २६५ रन बनाएको थियो। पवन थापाले ७९ र इशान पाण्डेले ७० रन बनाएका थिए। पुलिसका दिनेश खरेल र रसिद खानले ३–३ विकेट लिँदा करण केसीले २ तथा ललित राजवंशीले १ विकेट लिए।