प्रधानमन्त्री कप क्रिकेटः कर्णालीविरुद्ध सुदूरपश्चिमको सहज जित

वीरगन्ज: सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिमले महत्वपूर्ण दुई अंक हात पारेको हो।
सुदूरपश्चिमको जितमा तीव्र गतिका बलर हेमन्त धामी नायक बने। उनले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएपछि कर्णाली ३२ ओभरमा ११९ रनमै समेटिएको थियो।
कर्णालीले दिएको १२० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। सुरुवात कमजोर भए पनि किरण ठगुन्नाले २६ र खडक बोहराले २३ रन बनाएर टोलीलाई जिततर्फ डोर्याए। अन्त्यमा मिलन बोहराले अविजित १८ र शेर मल्लले अविजित १० रन बनाउँदै टोलीलाई जित दिलाए।
कर्णालीका बलर अनुज चनरा र दिवन पुनले समान २–२ विकेट लिए भने प्रकाश जैसी र दीपेन्द्र रावतले १–१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीका लागि विपिन रावलले सर्वाधिक ३३ तथा सुनिल धमलाले २३ रन बनाए। तर अन्य ब्याटरले साथ दिन नसक्दा कर्णाली ठूलो योगफल बनाउन असफल भयो।
कर्णालीलाई सस्तोमै समेट्ने क्रममा धामीले ६ विकेट लिँदा कप्तान शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले १–१ विकेट लिए। उत्कृष्ट बलिङ प्रदर्शन गरेका धामी प्लेयर अफ द म्याच घोषित भए। उनले पाँच हजार नगद प्राप्त गरे ।
जितसँगै सुदूरपश्चिमले २ अंक जोड्दा दोस्रो खेल खेलेको कर्णाली १ अंकमै सीमित रह्यो। यसअघि कर्णाली र लुम्बिनीको खेल वर्षाका कारण अवरुद्ध भएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए।