राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित, ९७ देखि १३६ सम्मका खेल रोकिए

राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित, ९७ देखि १३६ सम्मका खेल रोकिए

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी ‘राष्ट्रिय लिग २०८२’ का आगामी सम्पूर्ण खेलहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै एन्फाले लिगको कार्यतालिका अनुसारका खेल नम्बर ९७ देखि १३६ सम्मका खेलहरू रोकेको जानकारी दिएको हो।

एन्फाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा सहभागी सम्पूर्ण क्लबहरूलाई लिग हालका लागि स्थगित गरिएको औपचारिक जानकारी गराएको छ।

आजका खेलहरूमा प्रभाव

बिहीबारको कार्यतालिका अनुसार लिगमा कुल ३ वटा खेलहरू तय भएका थिए। जसमध्ये चित्लाङ एफसी र लालीगुराँस एफसी बीचको खेल सम्पन्न भइसकेको छ। सो खेल सम्पन्न भएलगत्तै एन्फाको यो निर्णय आएको हो। बाँकी रहेका दुई खेलहरू भने अब स्थगित भएका छन्।

किन रोकियो लिग?

एन्फाले जारी गरेको विज्ञप्तिमा लिग स्थगित हुनुको ठोस प्राविधिक कारण खुलाएको छैन। यद्यपि पछिल्लो समय विदेशी खेलाडीहरूको श्रम स्वीकृति र भिसा सम्बन्धी विवादका कारण लिग प्रभावित भइरहेको सन्दर्भमा यो निर्णय आएको हो। यसअघि अध्यागमन विभागको पत्राचारपछि एन्फाले महिला राष्ट्रिय लिगका खेलहरू पनि रोक्ने निर्णय गरिसकेको छ।

क्लबहरू अन्योलमा

लिगको मध्य भागमा आएर खेलहरू अचानक स्थगित भएपछि सहभागी क्लब र खेलाडीहरू अन्योलमा परेका छन्। एन्फाका अनुसार अब सरोकारवाला पक्षहरूसँगको छलफल र कानुनी प्रक्रियाको निर्क्योलपछि मात्र लिग पुन: सुचारु हुनेछ।