दीपेन्द्रको कप्तानीमा टी–२० टोली घोषणा, रोहित बाहिर

दीपेन्द्रको कप्तानीमा टी–२० टोली घोषणा, रोहित बाहिर

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीलाई सुम्पिएको छ। नियमित कप्तान रोहित पौडेल यसपटक टोलीमा नपरेपछि क्यानले नयाँ नेतृत्वको घोषणा गरेको हो।

दीपेन्द्रको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ। जसमा केही अनुभवी खेलाडीको पुनरागमन र नयाँ अनुहारको समावेशले टोलीलाई सन्तुलित बनाएको छ। कुशल मल्ल, साहब आलम र अर्जुन साउदले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् भने सन्तोष यादव पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।

घोषित टोलीमा कप्तान दीपेन्द्र सिंह ऐरीसँगै सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्।

यसअघि टी–२० विश्वकप खेलेको टोलीका कप्तान रोहित पौडेलसहित आशिफ शेख, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी भने यस पटकको टोलीमा अटाएका छैनन्। यी खेलाडीहरू एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) टोलीमा भने यथावत् छन्।

नेपालले सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा युएईविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ। उक्त सिरिज फ्लडलाइटमा सञ्चालन हुने क्यानले जनाएको छ।