राष्ट्रिय पुरुष क्रिकेट टोलीको फिटनेस टेस्ट सम्पन्न, अस्ट्रेलिया भ्रमणअघि तयारी तीव्र

काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको फिटनेस तथा फिजिकल टेस्ट सम्पन्न भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को समन्वयमा ललितपुरको सातदोबाटोस्थित नेशनल हाई परफर्मेन्स सेन्टरमा परीक्षण गरिएको हो।
फिटनेस तथा फिजिकल टेस्टमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक, फिजियोलगायतको उपस्थिति रहेको थियो। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार परीक्षणको नतिजाबारे टोलीमा विस्तृत छलफल गरिनेछ। उनले सेन्टरमा आवश्यक सम्पूर्ण उपकरण उपलब्ध भएकाले परीक्षण सहज रूपमा सम्पन्न भएको जानकारी दिए।
सचिव खड्काले अन्य खेल संघहरूलाई पनि हाई परफर्मेन्स सेन्टरको प्रभावकारी प्रयोग गर्न सुझाव दिएका छन्। ‘फिटनेस कुनै पनि खेलको मूल आधार हो’ उनले भने ‘यसले दीर्घकालीन रुपमा खेलाडीको प्रदर्शनमा ठूलो प्रभाव पार्दछ।’

त्यसैगरी राखेपका सदस्य सचिव टंकलाल घिसिङले हाई परफर्मेन्स सेन्टर नेपाली खेलाडीहरूको प्रशिक्षण स्तर उकास्ने उद्देश्यले स्थापना गरिएको बताउँदै सबै खेल संघहरूले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले आगामी दिनमा सेन्टरलाई अझ परिस्कृत र सुविधासम्पन्न बनाउने दिशामा पहल आवश्यक रहेको उल्लेख गरे।
फिटनेस तथा फिजिकल परीक्षणको परिणामले खेलाडीहरूको शारीरिक क्षमताको मूल्यांकन गर्नुका साथै टोली व्यवस्थापनलाई उपयुक्त रणनीति तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली केही दिनमै अस्ट्रेलिया भ्रमणमा निस्कन लागेको छ। टोलीले अस्ट्रेलियामा ‘टप इण्ड टी-२० सिरिज’ मा सहभागिता जनाउनेछ। यो भ्रमण आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीस्वरूप रहेको क्यानले जनाएको छ।

नेपालको प्रदर्शन सुधार गर्नका लागि उच्च स्तरको फिटनेस र अन्तर्राष्ट्रिय स्तरको तयारीलाई प्राथमिकतामा राखिएको जनाइएको छ।