काभा मेन्स च्याम्पियन्स लिगमा हेल्प नेपालको पहिलो हार

काभा मेन्स च्याम्पियन्स लिगमा हेल्प नेपालको पहिलो हार

माल्दिभ्स: नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स भलिबल च्याम्पियन्स लिग अन्तर्गत तेस्रो खेलमा आफ्नो पहिलो हार व्यहोरेको छ। माल्दिभ्समा जारी प्रतियोगिताको शनिबार भएको खेलमा हेल्प नेपाल कीर्गिस्तानको बिस्केक कीर्गिस्तान क्लबसँग ३–२ ले पराजित भएको हो।

हेल्प नेपाल दुई पटक पछि परेको अवस्थामा पनि खेलमा फर्किएको थियो। तर, निर्णायक पाँचौं सेटमा भने कीर्गिस्तानी टोलीले पकड जमाउँदै २५–२०, २६–२८, २५–२०, १७–२५ र १५–११ को सेट स्कोरमा जित दर्ता गर्‍यो।

यसअघि, हेल्प नेपालले प्रतियोगितामा लगातार दुई जित हात पारेको थियो। दोस्रो खेलमा उसले शुक्रबार माल्दिभ्सको एचडीसी क्लबलाई ३–१ ले पराजित गरेको थियो। सो खेलमा नेपाली टोलीले पहिलो दुई सेट जितेपछि तेस्रो सेट गुमाएको थियो तर चौथो सेटमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।

त्यसअघिको पहिलो खेलमा हेल्प नेपालले बिहीबार घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३–२ ले हराएको थियो। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को आयोजनामा भइरहेको यो प्रतियोगितामा काभाका पाँच सदस्य राष्ट्रका लिग च्याम्पियन क्लब तथा आयोजक मुलुकको उपविजेता समेत सहभागी छन्। प्रतियोगिता सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलाइँदैछ।

प्रतियोगिताको विजेताले सन् २०२६ मा आयोजना हुने एसियन क्लब च्याम्पियनसिप मा सहभागिता जनाउने अवसर पाउनेछ।