एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट

सिमराः एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने एसिया कपमा छनौट भएको छ । मलेसियाको क्वालालामपुरमा शनिबार सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले पराजित गर्दै नेपालले प्रिमियर कपको उपाधि जितेको हो ।

बायुमास ओभल मैदानमा नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको युएई २६९ रनमा समेटियो । युएईका लागि राहुल चोपराले शतकीय पारी खेलेपनि हार टार्न सकेनन् । चोपराले १०५ बलमा एक सय रन बनाए । यसैगरी युएईका सोहेब खानले ५२ रन जोड्दै अर्धशतक पूरा गरे । युएईका ओपनर तनिश सुरीले ४२ र हरप्रित सिंहले ३३ रन बनाए ।

नेपालका करण केसीले तीन, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले दुई/दुई विकेट लिए भने कप्तान सन्दीप लामिछाने, राहित पौडेल र गुलशन झाले एक/एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ओपनर आशिफ शेखको शतकीय पारीमा ३१३ रन जोडेको थियो । आशिफले १०६ बलमा चार छक्का र आठ चौका प्रहार गर्दै १०२ रन बनाए । यसैगरी गुलशन झाले ५२ रन जोड्दै अर्धशत बनाए । ओपनर अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन बनाउँदा अन्य खेलाडी चल्न सकेनन् ।

युएईका ईब्रार अहमदले चार विकेट चट्काए । यसैगरी खुजैमा तनविरले दुई, हैदर अलि र अदिब उस्मानीले एक/एक विकेट लिए ।

युएईलाई पराजित गर्दै उपाधि जितेको नेपालले अब आगामी वर्ष बंगलादेशमा हुने एसिया कप खेल्नेछ । एसिया कपमा आयोजक राष्ट्र बंगलादेशसहित नेपाल, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान सहभागी हुनेछन् ।