ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

सिमराः नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायुमास ओभल मैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
जितका लागि एक सय ४८ रनको लक्ष्य पछ्याएको ओमान नेपालको घातक बलिङसामु १८.१ ओभरमा मात्र ६० रनमै अलआउट हुन पुग्यो । ओमानका लागि जतिन्दर सिंहले २५ र जितेन रमानन्दीले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ओमानको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा नेपालका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३–३ विकेट लिए । यसैगरी कप्तान रोहित पौडेल र ललित राजवंशीले २-२ विकेट बाँडे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । खराब सुरुआत गरेको नेपालका लागि प्लेयर अफ दि म्याच दीपेन्द्र सिंह ऐरीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने बसिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए । ओपनर देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुलशन झाले ७, रोहित पौडेलले ३ र ईशान पाण्डेले १ रन मात्रै जोडे ।
ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले ३–३ विकेट लिँदा मुहम्मद इमरानले दुई विकेट हात पारे । मुजीबुर अलि र शकिल अहमदको नाममा १–१ विकेट रह्यो ।
जितसँगै नेपालले आगामी २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । नेपालले अब उपाधिका लागि शनिबार युएईको सामना गर्नेछ।
हङकङलाई पराजित गर्दै युएईले फाइनलको यात्रा तय गरिसकेको छ। प्रतियोगिताको विजेता टोली सोझै एसिया कपका लागि छनोट हुनेछ।