दशौं राष्ट्रिय खेलकुदको तोकियो नयाँ मिति, मंसिर १६ देखि २९ गतेसम्म आयोजना हुने

सिमराः दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको बोर्ड बैठकले कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगिताको नयाँ मिति तय गरेको हो ।
नवौँ राष्ट्रिय खेलकुद समापनका क्रममा २०८१ मंसिरमा दशौं संस्करण कर्णालीमा गर्ने घोषणा गरिएको थियो। तर पूर्वाधार निर्माण, आर्थिक अभावलगायत विभिन्न कारण देखाउँदै यसअघि चारपटकसम्म मिति सारिएको थियो ।
पछिल्लो पटक तत्कालीन खेलकुद मन्त्री बब्लु गुप्ताले २०८२ फागुनका लागि मिति तोकेका थिए । तर चुनावका कारण उनले राजीनामा दिएपछि प्रतियोगिता पुन: अन्योलमा परेको थियो। पटकपटक मिति सर्दा खेलाडीहरूमा निराशा छाएका बेला राखेपको बैठकले मंसिरका लागि नयाँ मिति तय गरेको हो ।