एसीसी प्रिमियर कप: नेपालको पहिलो खेल बहराइनसँग, टोलीको नेतृत्व सन्दीप लामिछानेले गर्ने

सिमराः मलेसियामा आयोजना हुन लागेको एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपमा नेपालले आफ्नो पहिलो खेल बहराइनसँग खेल्ने भएको छ। एसीसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल र बहराइनबीचको प्रतिस्पर्धा अगस्ट ३१ मा हुनेछ। १० टोली सहभागी हुने यो प्रतियोगिता आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ तारिखसम्म मलेसियामा सञ्चालन हुँदै छ।
प्रतियोगिताका लागि टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ नेपालसहित बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङ रहेका छन्। अर्कोतर्फ समूह ‘ए’ मा कुवेत, ओमान, कतार, सिंगापुर र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन्।
नेपालले बहराइनसँगको पहिलो खेलपछि दोस्रो खेल सेप्टेम्बर ३ मा आयोजक मलेसियासँग खेल्नेछ। त्यसपछि सेप्टेम्बर ६ मा साउदी अरेबिया र सेप्टेम्बर ८ मा हङकङसँग प्रतिस्पर्धा गर्ने तय भएको छ।
यस प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीको नेतृत्व लेग स्पिनर सन्दीप लामिछानेले गर्नेछन्। नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी पुन: सुम्पेको हो। यसअघि पनि राष्ट्रिय टोलीको कप्तानी गरिसकेका लामिछानेको नेतृत्वमा नेपाली टोलीले मैदानमा उत्रिने तयारी गरिरहेको छ।