राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा ललिता नाथ र धनीराम चौधरी मनोनीत

काठमाडौंः शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रिक्त सदस्य पदमा दुई जनालाई मनोनीत गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार रुकुम पश्चिमकी ललिता नाथ र दाङका धनीराम चौधरी राखेप सदस्यमा मनोनीत भएका हुन्।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ को उपदफा (२) को खण्ड (ट) बमोजिम उनीहरूलाई उक्त पदमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ। एक कार्यक्रमकाबीच सोमबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त सदस्यद्वय नाथ र चौधरीलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
राखेप सदस्यमा मनोनीत नाथ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी पूर्व कप्तान हुन् । केही साताअघि मात्र भलिबल प्रशिक्षकको लेभल-वान कोर्स पूरा गरेकी उनी न्यु डायमण्ड र एभरेष्ट महिला भलिबल लिग विजेता टोली कर्णाली यशविजकी सहायक प्रशिक्षकसमेत हुन् ।
त्यस्तै अर्का नवनियुक्त सदस्य चौधरी एथलेटिक्सका पूर्व खेलाडी हुन् । उनले यसअघि राष्ट्रिय खेलकुद परिषद्मै एथलेटिक्स प्रशिक्षकका रूपमा लामो समय सेवा गरिसकेका छन् ।