२०औं एसियाली खेलकुद: नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुने

काठमाडौंः जापानको आइची-नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड) मा नेपालको तर्फबाट एक सय ३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २२ खेलका लागि ८० पुरुष र ५६ महिला खेलाडीको नामावली टुङ्गो लगाएको हो।
टोलीसँग ३२ जना प्रशिक्षक पनि जापान जानेछन्। यसअघि राखेपले इ-स्पोर्ट्ससहित २३ खेल र करिब १४० खेलाडी पठाउने तयारी गरे पनि अन्तिम समयमा छनोट चरण पार गरेको इ-स्पोर्ट्सलाई टोलीमा समेट्न सकेन।
यी हुन् सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने उक्त खेलकुद महाकुम्भमा नेपालबाट सहभागी हुने खेल र खेलाडीहरुः
टिम खेल: पुरुष क्रिकेट (१५ खेलाडी), महिला भलिबल (१२ खेलाडी) र कबड्डी (पुरुष र महिला टोली गरी कुल २४ खेलाडी) ।
मार्सल आर्ट्स: उसु (११ खेलाडी), कराते (८ खेलाडी), बक्सिङ (७ खेलाडी), जुडो (६ खेलाडी), कुस्ती (६ खेलाडी) र तेक्वान्दो (२ खेलाडी) ।
अन्य व्यक्तिगत/युगल खेल: एथलेटिक्स (६), टेबल टेनिस (६), पौडी (५), टेनिस (५), सफ्ट टेनिस (४), गल्फ (४), आर्चरी (२), साइक्लिङ (२), स्क्वास (२), क्यानोइ स्लालोम (२), स्केटबोर्ड (२) र डान्स एन्ड स्पोर्ट्स (१ खेलाडी) ।
महिलातर्फ भलिबलमा मात्र सहभागिता रहनेछ भने क्यानोइ स्लालोम, क्रिकेट, डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड र तेक्वान्दोमा पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन्। बाँकी १६ खेलमा पुरुष र महिला दुवैको सहभागिता रहनेछ ।
सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औं एसियाडमा नेपालबाट २९ खेलमा दुई सय ५३ खेलाडी सहभागी भएका थिए । जहाँ करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टोलीले कांस्य पदक जितेका थिए।
नेपालले एसियाली खेलकुद इतिहासमा हालसम्म ३ रजत र २३ कांस्य गरी कुल २६ पदक जितेको छ। यस पटक भने पहिलो ऐतिहासिक स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेपले लिएको छ।