अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्री ओलीद्वारा सम्मान तथा पुरस्कार वितरण

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्री ओलीद्वारा सम्मान तथा पुरस्कार वितरण

सिमराः प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी पदक जितेका नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई बुधबार सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन्। युवा तथा खेलकुद मन्त्रालय द्धारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले जापानमा सम्पन्न तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक जितेका विजय सिँजालीलाई नगद ६५ लाख र सम्मानपत्र प्रदान गरे। उक्त प्रतियोगिता गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासङ्घको आयोजनामा सम्पन्न भएको थियो ।

यसैगरी गत फागुन २० देखि २५ गतेसम्म इरानमा सम्पन्न छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक जित्ने मनमति विष्ट लगायत सम्पूर्ण टोलीका सदस्यहरुलाई जनही एक लाख ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ।

यसैबीच श्रीलङ्कामा गत असोज २० देखि २६ गतेसम्म आयोजित काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक जित्न सफल अर्जुन नेपालीसहित टोलीलाई तीन लाखका दरले पुरस्कार प्रदान गरिएको हो।

साथै असार ८ देखि २१ गतेसम्म मलेसियामा सम्पन्न एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले विशेष रूपमा बधाई तथा स्वागत गरे। उक्त पुरस्कार वितरण राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार यही असार ९ गतेको मन्त्रिपरिषद्को निर्णयबाट गरिएको हो ।