कोरियाको चुनचोनमा नेपालकी काजलले निर्वाह गरिन् अन्तर्राष्ट्रिय निर्णायकको भूमिका

कोरियाको चुनचोनमा नेपालकी काजलले निर्वाह गरिन् अन्तर्राष्ट्रिय निर्णायकको भूमिका

चुनचोन: दक्षिण कोरियाको चुनचोनमा सम्पन्न विश्व पारा तेक्वान्दो ओपन च्यालेन्ज २०२६ मा नेपालकी काजल श्रेष्ठले अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) को जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकी छन् ।

विश्व तेक्वान्दोद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न देशका ३० जना भन्दा बढी अन्तर्राष्ट्रिय निर्णायक सहभागी थिए। नेपालबाट सहभागी भएकी काजलले विभिन्न स्पर्धामा निर्णायकको भूमिका निर्वाह गरिन् ।

काजल नेपालकी पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी हुन् । उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । खेलाडीका रूपमा सफलता हासिल गरेपछि उनी अन्तर्राष्ट्रिय निर्णायकका रूपमा पनि सक्रिय रहँदै आएकी छन् ।

दुई दिनसम्म चलेको प्रतियोगितामा विश्वका उत्कृष्ट पारा तेक्वान्दो खेलाडीहरूको सहभागिता रहेको थियो । दोस्रो तथा अन्तिम दिन इरान, ग्रीस, दक्षिण कोरिया, उज्बेकिस्तान र रूसका खेलाडीहरूले विभिन्न तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा टोकियो २०२० र पेरिस २०२४ पारालिम्पिकका २१ पदक विजेता खेलाडीहरूले सहभागिता जनाएका थिए । यसले विश्व पारा तेक्वान्दोको बढ्दो प्रतिस्पर्धात्मक स्तरलाई थप उजागर गरेको आयोजकले जनाएको छ ।

चुनचोनमा विश्व तेक्वान्दोका अन्य कार्यक्रम जुलाई १३ मा हुने डेमोन्स्ट्रेशन तथा ब्रेकिङ च्याम्पियनसिपबाट सुरु हुनेछन्। जुलाई १४ देखि १६ सम्म विश्वकप टिम च्याम्पियनसिप आयोजना हुनेछ ।