अब नयाँ एन्फा बन्छ: खेलकुदमन्त्री पोखरेल

काठमाडौंः सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको निलम्बन फुकुवा गराउने विषयमा विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) सँग संवाद सुरु भइसकेको बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
सञ्चारकर्मीहरूले एन्फा निलम्बनका विषयमा राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले नेपाली फुटबलमा अहिलेको सरकारले मात्र नभई विगतमा पनि पटक–पटक राजनीतिक हस्तक्षेप भएका कारण निलम्बनको अप्रिय अवस्था सिर्जना भएको स्पष्ट पारे । उनले अबका दिनमा राजनीतिक हस्तक्षेपविनाको पूर्ण रूपमा नयाँ र व्यावसायिक एन्फा बन्ने दाबीसमेत गरे ।
नेपाली फुटबलको साख र स्तर खस्किएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री पोखरेलले भने ‘नेपाली फुटबल यहाँभन्दा तल झर्ने ठाउँ नै छैन।’ यसका साथै उनले एन्फाभित्र भएका आर्थिक अनियमितता र भ्रष्टाचारका विषयमा थुप्रै उजुरीहरू प्राप्त भएको र त्यसमाथि अहिले सुक्ष्म छानबिन चलिरहेको समेत जानकारी दिए ।
निलम्बन फुकुवा र आगामी कार्यदिशाका लागि फिफा तथा एसियाली फुटबल महासंघ (एएफसी) सँग निरन्तर समन्वय भइरहेको उनले बताए । फिफासँगको संवादबारे थप प्रष्ट पार्दै मन्त्री पोखरेलले भने ‘फिफासँग हाम्रो अन्तरक्रिया सुरु भइसकेको छ। हामीले फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागिसमेत नेपाल बोलाएका छौँ। उहाँहरू नेपाल आएपछि यो विषयमा स्वाभाविक रूपमा थप विस्तृत छलफल हुनेछ।’