मधेस टी–२० क्रिकेट लिगमा रौतहट र महोत्तरीको शानदार सुरुवात

मधेस टी–२० क्रिकेट लिगमा रौतहट र महोत्तरीको शानदार सुरुवात

कलैया: मधेस टी–२० क्रिकेट लिगको दोस्रो संस्करणमा रौतहट र महोत्तरीले विजयी सुरुवात गरेका छन् । बारा र पर्सामा सुरु भएको प्रतियोगिताको पहिलो दिन रौतहटले सर्लाहीलाई तथा महोत्तरीले पर्सालाई पराजित गर्दै दुई/दुई अंक जोड्न सफल भएका हुन् ।

वीरगन्जस्थित टिबी शाह रंगशालामा सम्पन्न खेलमा महोत्तरीले पर्सालाई ९ विकेटले पराजित गर्यो । पर्साले दिएको ७८ रनको लक्ष्य महोत्तरीले ७.५ ओभरमै एक विकेट गुमाएर सहज रूपमा पूरा गर्यो ।

महोत्तरीको जितमा ओपनर रविकुमार सिंह नायक बने । उनले २७ बलमा सात चौका र दुई छक्काको सहयोगमा अविजित ५० रन बनाउँदै प्लेयर अफ दि म्याच घोषित भए । महमद सर्फराज अन्सारीले २० रनको योगदान दिए । पर्साका अनुजकुमार चौहानले एक विकेट लिए पनि अन्य बलर प्रभाव जमाउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको पर्सा १७.४ ओभरमा ७७ रनमै समेटिएको थियो । पर्साका महमद समीरले २३ तथा चन्दन रामले १६ रन बनाए । महोत्तरीका रमेश सहनी र आकाश मण्डलले समान तीन विकेट लिए भने रविकुमार सिंहले दुई तथा नितेश यादवले एक विकेट हात पारे ।

यस्तै अर्को खेलमा रौतहटले सर्लाहीलाई ६ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्यो । पहिले ब्याटिङ गरेको सर्लाही १६.१ ओभरमा ५९ रनमा अलआउट भयो । सर्लाहीका अलि हसनले १८ तथा हेमन्त सिंहले १६ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

रौतहटका मुकेश रामले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएर प्लेयर अफ दि म्याच बने । राजेश यादव, आशिक बैठा र डब्लु मल्लिकले समान दुई/दुई विकेट लिए ।

६० रनको लक्ष्य पछ्याएको रौतहटले ८.१ ओभरमा चार विकेट गुमाउँदै जित निकालेको थियो । रौतहटका बिजय गुप्ताले ३४ तथा डब्लु मल्लिकले १५ रन बनाए । सर्लाहीका अभय यादवले चार विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

उता, कलैयास्थित सिद्धेश्वर खेल मैदानमा हुने भनिएका बारा र सप्तरी तथा धनुषा र सिरहा बीचका खेल खराब मौसमका कारण रद्द भएका छन् । खेल रद्द भएपछि चारवटै टोलीले एक/एक अंक बाँडेका छन् ।

प्रतियोगिता अन्तर्गत बिहीबार सिद्धेश्वर खेल मैदानमा सिरहा र सप्तरी तथा बारा र धनुषाबीच खेल हुनेछ । यस्तै टिबी शाह मैदानमा पर्सा र रौतहट तथा महोत्तरी र सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ ।

टिबी शाह मैदानमा आयोजित उद्घाटन समारोह मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले उद्घाटन गरेका थिए । प्रतियोगिता जेठ ८ गतेसम्म सञ्चालन हुनेछ ।

राउण्ड रोबिन आधारमा सञ्चालन हुने प्रतियोगिताबाट शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो संस्करणको उपाधि बाराले जितेको थियो ।