पर्सामाथि बाराको ६ विकेटको सान्त्वना जित

सिमरा: बारा जिल्ला क्रिकेट संघले तेस्रो जीतपुरसिमरा क्रिकेट कपमा पर्सामाथि ६ विकेटको सान्त्वना जित दर्ता गरेको छ। जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा सोमबार भएको खेलमा पर्साले दिएको १३१ रनको लक्ष्य बाराले १९.२ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो।
बाराको जितमा साहिल पटेल नायक बने। उनले ३८ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ४६ रन बनाए। त्यस्तै महमद साहिद अलीले २५ बलमा ३१ रनको महत्वपूर्ण योगदान दिए भने ओपनर साबजान मन्सुरीले २८ र रविकुमार साहले १७ रन जोडे।
बलिङतर्फ पर्साका नितेश पटेल, वशिम मन्सुरी, अभय यादव र अरमान शेखले एक/एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको पर्साले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो। पर्साका लागि सम्साद मन्सुरीले २७ र अकिब अंसारीले २४ रन बनाए।
बाराका करण साह तेलीले घातक बलिङ गर्दै तीन विकेट लिए भने खिलराज सर्राफ, सिराज हवारी र रोहन साहले एक/एक विकेट चट्काए ।
खेलको प्लेयर अफ दि म्याच बाराका साहिल पटेल घोषित भए । उनलाई नेकपा जीतपुरसिमराका अध्यक्ष प्रेम बरालले पुरस्कृत गरे । यसैगरी जनकपुर बोल्ट्सको तर्फबाट सन्तोष दाहालले जर्सी हस्तान्तरण गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘बी’ का खेलहरु सुरु हुनेछन् । समूह ‘बी’ अन्तर्गत मंगलबार आयोजक जीतपुरसिमरा क्रिकेट क्लब र मकवानपुरबीच खेल हुनेछ । यस समूहमा आयोजक, मकवानपुर र चितवन छन् । समूहको शिर्ष टोली फाइनलमा पुग्नेछ ।
समूह ‘ए’ बाट सर्लाही फाइनलमा प्रवेश गरिसकेको छ । सर्लाहीले पर्सालाई १७ रन र बारालाई ४१ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
चैत २८ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।