एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा पोखरामा हुने

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा पोखरामा हुने


सिमरा: जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण पुस २३ गते पोखरामा आयोजना हुने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्डको मिति सार्वजनिक गरेको हो । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित भएको थियो।

पोखरा सभागृहमा पुस २३ गते अवार्ड कार्यक्रम हुने एनएसजेएफले जनाएको छ। यस संस्करणमा यती एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको छ। यती एयरलाइन्सले मनोनयनमा परेका खेलाडी, प्रशिक्षक तथा अतिथिलाई सेवा उपलब्ध गराउनेछ।

अवार्डको महत्वपूर्ण विधा पिपल्स च्वाइसतर्फ रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि आइतबारदेखि पुनः खुला गरिएको छ। यस विधामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा प्रतिस्पर्धामा छन्। अघिल्लो चरणमा प्राप्त भोटबाटै भोटिङ प्रक्रिया अगाडि बढ्ने मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिए ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ। वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर विधा समावेश छन्।

वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।


गोल्छा ग्रुप मुख्य प्रायोजककै रूपमा निरन्तर रहनेछ। पोखरा महानगरपालिकासँग सहकार्यका लागि लिखित सम्झौता भइसकेको छ। सूर्य नेपाल, आईएमई खल्ती डिजिटल वालेट, केल्मी नेपाल, इमेजिड, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, बाग्मती प्रदेश खेलकुद विकास परिषद, नेपाल पर्यटन बोर्ड र आईएमई हस्पिटालिटी पनि कार्यक्रमका साझेदार रहेका छन्।

अवार्डको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोर्ट्स समिट पनि आयोजना हुनेछ। समिटमा पोखराको पर्यटन र खेलकुद अर्थतन्त्रबारे छलफल हुने मञ्चले जनाएको छ।