फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत

काठमाडौं: पछिल्लो आठ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता यथावत रहेको छ। फिफाले सोमबार सार्वजनिक गरेको डिसेम्बर महिनाको नयाँ वरीयतामा नेपाल १८२औं स्थानमै कायम रहेको हो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) का सदस्य राष्ट्रमध्ये नेपाल हाल चौथो स्थानमा छ। अघिल्लो वरीयतामा नेपाल दुई स्थान झरेको भए पनि यसपटक वरीयतामा कुनै परिवर्तन आएको छैन।
पछिल्लो वरीयताअनुसार नेपाललाई पछि पार्दै बंगलादेश तीन स्थान उक्लिँदै १८०औं स्थानमा पुगेको थियो र हाल पनि सोही स्थानमा कायम छ। साफका अन्य सदस्य राष्ट्रहरूको वरीयतामा पनि कुनै परिवर्तन देखिएको छैन। भारत १४२औं र माल्दिभ्स १७३औं स्थानमा रहेका छन्।
साफ च्याम्पियनसिप नजिकिँदै गर्दा वरीयताको आधारमा नेपाल चौथो स्थानमा रहेको छ। नेपालभन्दा पछाडि भुटान, श्रीलंका र पाकिस्तान रहेका छन्।
फिफा वरीयताको शीर्ष १० राष्ट्रहरूमा कुनै परिवर्तन आएको छैन। स्पेन शीर्ष स्थानमा रहेको छ भने अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा रहेका छन्।
साफ सदस्य राष्ट्रहरूको फिफा वरीयता:
नेपाल – १८२
भारत – १४२
पाकिस्तान – १९९
बंगलादेश – १८०
श्रीलंका – १९४
भुटान – १९२
माल्दिभ्स – १७३