निजगढमा चौथो मधेश प्रदेश स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न

सिमरा: चौथो मधेश प्रदेश स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता बाराको निजगढमा सम्पन्न भएको छ । निजगढ नगरपालिका ९ स्थित जनज्योती विद्यालयमा पुष ४ र ५ गते दुई दिन सञ्चालन भएको प्रतियोगितामा आयोजक जनज्योती आधारभूत तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
आयोजक डोजाङले ४ स्वर्ण, ६ रजत र १० कास्य गरी जम्मा २० पदक जित्दै शीर्ष स्थान हासिल गरेको हो । त्यसैगरी महोत्तरीको क्रियटिभ तेक्वान्दो डोजाङ ३ स्वर्ण, ४ रजत र ४ कास्यसहित दोस्रो तथा सर्लाहीको बरथहवा तेक्वान्दो डोजाङ ३ स्वर्ण र २ रजत पदकसहित तेस्रो भएको छ ।
प्रतियोगितामा मधेश प्रदेशभित्रका १८ वटा तेक्वान्दो डोजाङबाट करिब २०० खेलाडीले सहभागिता जनाएका थिए । पुरुषतर्फ ९ र महिलातर्फ ७ तौल समूहमा प्रतिस्पर्धा भएको प्रतियोगितामा पुम्से विधातर्फ एकल तथा जोडी दुवैतर्फ खेलाडीहरू सहभागी भएका थिए ।
प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडी आयोजक डोजाङका सचिन लामा र उत्कृष्ट महिला खेलाडी रञ्जु दास घोषित भइन् । उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । स्वर्ण पदक विजेताले १ हजार र रजत पदक विजेताले जनही ५ सय रुपैयाँ नगद पुरस्कार पाएका थिए ।
पदक विजेता खेलाडीलाई निजगढ नगरपालिका ९ का वडाध्यक्ष रामचन्द्र कटुवाल, वडा नं. १३ का वडाध्यक्ष सूर्य घलान, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, मधेश प्रदेश महासचिव राजकुमार लामा, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछाने, बारा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख हेमलाल श्रेष्ठ, अग्रज पत्रकार गोकुल घोरसाइने र प्रेस चौतारी नेपाल मधेश प्रदेशका महासचिव दिवाकर भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन वडा नं. १३ का वडाध्यक्ष सूर्य घलानले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुद विकासका लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । समापन समारोहका प्रमुख अतिथि वडा नं. ९ का वडाध्यक्ष रामचन्द्र कटुवालले दक्ष खेलाडी उत्पादनका लागि खेलकुद गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
प्रतियोगिता आयोजना गर्न निजगढ नगरपालिकाको वडा नं. ९ र १३ को वडा कार्यालयसहित विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोग रहेको आयोजक जनज्योती तेक्वान्दो डोजाङका अध्यक्ष राजु माझीले जानकारी दिए ।