लुम्बिनी लायन्स फाइनलमा, विराटनगर किंग्स ४० रनले पराजित

लुम्बिनी लायन्स फाइनलमा, विराटनगर किंग्स ४० रनले पराजित

काठमाडौं: एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले हराउँदै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटियो। लुम्बिनीका पाँचै बलरले विकेट लिए। तिलक भण्डारी उत्कृष्ट रहे। उनले चार ओभरमा १५ रन मात्रै दिए र तीन विकेट निकाले। अभिषेक गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले दुई/दुई विकेट लिए। शेर मल्लले एक विकेट हात पारे ।

विराटनगरका साम हेजलेटले ३४ रन बनाए। नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन जोडे। अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। स्टार ओपनर मार्टिन गप्टिल र फाफ डू प्लेसिस क्रमशः दुई र तीन रनमै आउट भए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेका लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो। डार्सी शर्टले ४५ रन र कप्तान रोहितकुमार पौडेलले ३४ रन जोडे। यी दुईले ६९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ सम्हाले। निरोसान डिकवेलाले २९ रन थपे।

विराटनगरका स्पिनर सुवास भण्डारी आज चम्किए। उनले चार ओभरमा १४ रन दिएर तीन विकेट लिए। प्रतिश जिसीले पनि तीन विकेट लिए। कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे।

गत सिजन पुछारमा रहेर प्रतियोगिता टुंग्याएको लुम्बिनीले यसपटक उपाधि लागि सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। पहिलो क्वालिफायरमा विराटनगरलाई नै ७७ रनले हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुगेको हो। फाइनल खेल मंसिर २७ गते हुनेछ ।