सिमरामा महिला र पुरुष अन्तरविद्यालय भलिबल प्रतियोगिता सुरु

सिमराः सिमरामा मंगलबार दुई विद्यालयले एकैदिन छुट्टाछुट्टै अन्तरविद्यालय भलिबल प्रतियोगिता सुरु गरेका छन्। एकता स्कुलले महिला भलिबल प्रतियोगिता प्रारम्भ गर्दा पाथीभरा इङ्लिस स्कुलले पुरुष भलिबल प्रतियोगिता सुरुवात गरेको हो।
महिला भलिबलको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरे। त्यस्तै पुरुष तर्फको खेल उपमहानगरका उपप्रमुख भोलाप्रसाद अधिकारीले शुभारम्भ गरे । दुवैले भलिबल खेललाई नगरमा स्थापित र लोकप्रिय बनाउन निरन्तर सहयोग गर्ने आश्वासन दिए।
महिला भलिबल : एकता र सेन्ट जोन्सको शानदार सुरुवात
महिला तर्फको उद्घाटन खेलमा आयोजक एकता स्कुलले अक्षरा पाठशालालाई २५-६, २५-० को सोझो सेटमा पराजित गर्दै प्रभावशाली सुरुवात गर्यो। खेलको ‘प्लेयर अफ दि म्याच’ प्राप्ति अधिकारी घोषित भइन्।
दोस्रो खेलमा सेन्ट जोन्स एकेडेमीले एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई २५-१०, २५-५ ले पराजित गर्यो। यस खेलको ‘प्लेयर अफ दि म्याच’ प्रशंसा पौडेल बनिन्।
महिला प्रतियोगिता मंसिर २१ गतेसम्म चल्नेछ। एकता, अक्षरा, सेन्ट जोन्स, एक्स सर्भिसम्यान, सिमरा पब्लिक, राष्ट्रिय विभूति, लोटस, पाथीभरा, मिसन र होली गार्डेनसहित १० टोली सहभागी रहेको एकता स्कुलका प्रिन्सिपल मदन रिजालले प्लेयर्स नेपाललाई बताए ।
पुरुष भलिबल : आयोजक पाथीभराको विजयी सुरुवात
त्यस्तै, पाथीभरा इङ्लिस स्कुलले आयोजना गरेको चौथो पुरुष भलिबल प्रतियोगितामा उद्घाटन खेलमै आयोजक टोलीले राम्रो प्रदर्शन गर्यो। पाथीभराले होली गार्डेनलाई २५–१६, २५–१९ ले पराजित गर्यो। खेलका ‘प्लेयर अफ दि म्याच’ प्रथम कलवार बने।
अर्को खेलमा अक्षरा पाठशालाले सेन्ट जोन्स एकेडेमीलाई सोझो सेट २५–१६, २५–१६ ले हरायो। यस खेलमा रिजन घलान ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
पुरुष प्रतियोगिता मंसिर २० गतेसम्म चल्नेछ। पाथीभरा, होली गार्डेन, एक्स सर्भिसम्यान, अक्षरा, सेन्ट जोन्स, राष्ट्रिय विभूति, एकता, स्नो एपेक्स, मिसन र लोटस गरी १० टोली सहभागी रहेको पाथीभरा स्कुलका प्रिन्सिपल लक्की रिमालले जानकारी दिए।
उद्घाटन समारोहमा एनप्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, सिमरा–डुमरवाना हबका संयोजक बसन्त ढकाल, सिमरा खानेपानीका सचिव अमृत बस्याल, विभिन्न विद्यालयका प्रिन्सिपललगायत गणमान्य व्यक्तिहरूको उपस्थिति थियो।