नेपालले जित्यो मलेसियाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिज

काठमाडौं: नेपालले मलेसियाविरुद्धको पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ। मलेसियाको क्वालालामपुरमा बुधबार भएको पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो।
एक सय चार रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै जीत हात पारेको हो। नेपालका लागि ओपनर रुबी पोद्दारले २६, पूजा महतोले २४, कविता कुँवरले १४, सम्झना खड्काले १३ र कप्तान इन्दु बर्माले ८ रनको योगदान दिइन्। रुविना क्षेत्री १५ र कविता जोशी एक रनमा नटआउट रहिन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले सात विकेट गुमाउँदै एक सय तीन रन बनाएको थियो। मलेसियाका विनिफ्रेड दुरासिंगमले सर्वाधिक ४० रन योगदान दिइन्।
नेपालका लागि राजमति ऐरी र कविता कुँवरले समान ३–३ विकेट लिँदा रचनाकुमारी चौधरीले एक विकेट लिएकी थिईन् ।